गृहपृष्ठ Featured एमसीसीबारे दीपकुमार उपाध्याय : ‘कम्युनिष्टले बोकाएको अपजसको भारी कांग्रेसले बोक्नुहुन्न’

एमसीसीबारे दीपकुमार उपाध्याय : ‘कम्युनिष्टले बोकाएको अपजसको भारी कांग्रेसले बोक्नुहुन्न’

(नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत उपाध्यायसँग गरिएको कुराकानीको कही अंश ।)

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण नेपाल झन् झन् अप्ठ्यारोमा पर्दै गएको छ । ‘स्टेट सेक्रेट’का नाममा अहिलेसम्म पनि के–के सम्झौता भएका थिए, त्यो पाइएन भन्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको गुनासो छ । त्यो कुरा कांग्रेस जस्तो पार्टीको सरकारका लागि राम्रो भएन ।

एमसीसीको पहिलो सम्झौतामा कांग्रेसले अडान लिएको थियो, देशले अडान लिएको थियो, एमसीसीलाई एउटा वैदेशिक सहयोगको रूपमा लिने संसदबाट अनुमोदन गर्नु नपर्ने ढंगले । कम्युनिस्टहरूको बलियो सरकार आउनेबित्तिकै ती प्रावधान कसरी चेञ्ज भयो ? उनीहरूमाथि कसरी दबाब पर्‍यो ? कसरी स्वीकारे उनीहरूले ? यी सबै कुरा देशबासीले जान्न पाउनुपर्छ । संसद्ले थाहा पाउनुपर्छ ।

बलजफ्ति पास भयो भने फेरि राजनीतिक दुर्घटनाको जोखिम हुन्छ । त्यसको समाधान अहिले बौद्धिकस्तरमा संसद्मा व्यापक छलफल गरेर मात्र हुनुपर्छ ।

कांग्रेस पार्टीको सभापति देशको प्रधानमन्त्री भएको बेलामा कूटनीतिक मर्यादाविपरीत एमसीसीलाई संयुक्त चिठ्ठी लेखेर पठाइयो, त्यो पनि राम्रो भएन । कूटनीतिक व्यक्ति विशेषको सल्लाह लिएर गर्नुपर्नेमा त्यस्तो चिठ्ठी पठाउँदा नेपालको कूटनीतिक छवि झन् असजिलोमा पर्दै गएको छ । हिजो कम्युनिस्ट सरकारबाट भएको गल्तीलाई ढाकछोप गर्ने होइन सच्चाउने ढंगले अगाडि बढ्नुपर्ने थियो ।

हामीले संसदबाट पास गर्नैपर्ने आवश्यकता किन भयो ? संसदबाट पास गर्ने निर्णय भएपछि त्यसपछि पूरक सम्झौता के के भए ? अमेरिका हाम्रो पुरानो र देशलाई आर्थिक सहयाेग गर्ने मित्र हो । उनीहरूसँगको सम्बन्धलाई हामीले राम्रो बनाउँदै लैजानुपर्छ । अमेरिकामा ह्वाइट हाउसको भनाइभन्दा पेन्टागनको भनाइको महत्त्व हुन्छ ।

उनीहरूले नेपालको सामरिक र भूराजनीतिक अवस्थितिलाई उपयोग गर्न त खोज्छन्, खोज्छन् । त्यसमा सतर्क हुने, चनाखो हुने कुरा त हाम्रो हो ।

हाम्रो असंलग्न परराष्ट्र नीतिलाई कतै नचुकेर राष्ट्रिय स्वार्थमा उभिने कुरामा कांग्रेस चुक्नुहुन्न । एमसीसी नै सबैथोक होइन, एमसीसीलाई एउटा अनुदान सहयोगको रूपमा, विकास परियोजनाको रूपमा स्वीकार्न कुनै आपत्ति छैन । तर संसदबाट पास गर्दा संघीय ऐनअन्तर्गगत नेपालका कानूनलाई ओभरसाइट गर्ने, नेपालका कानून निष्प्रभावी हुने कुराबारे राम्रो छलफल अनुसन्धान र छिनोफानो नगरिकन हतारमा पास गर्ने कुरा मलाई श्रेयस्कर लागिरहेको छैन ।

एमसीसीको पहिलो सम्झौतामा कांग्रेसले अडान लिएको थियो, देशले अडान लिएको थियो, एमसीसीलाई एउटा वैदेशिक सहयोगको रूपमा लिने संसदबाट अनुमोदन गर्नु नपर्ने ढंगले । कम्युनिस्टहरूको बलियो सरकार आउनेबित्तिकै ती प्रावधान कसरी चेञ्ज भयो ? उनीहरूमाथि कसरी दबाब पर्‍यो ? कसरी स्वीकारे उनीहरूले ? यी सबै कुरा देशबासीले जान्न पाउनुपर्छ । संसद्ले थाहा पाउनुपर्छ ।

एमसीसी पास गर्न प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेपछि सिनारियो बदलिएजस्तो देखिएको छ । तर, एमाले या कांग्रेस कसैले पनि राष्ट्रिय स्वार्थभन्दा विपरीत जान मिल्दैन । एमसीसीका सबै कुरा पारदर्शी हुनुपर्‍यो । सम्झौता ‘स्टेट सेक्रेसी’ हो, दिन मिल्दैन, भन्न मिल्दैन भनिएको छ । एमसीसीका सम्झौता र पूरक सम्झौताका कुरामा लिमिटेड कुरा राखिएको छ ।

संसद्मा सबै डकुमेन्ट आउनु पर्‍यो, सरकारले पेश गर्नुपर्‍यो । मागेको कुनैपनि डकुमेन्ट सांसदहरूलाई उपलब्ध हुनुपर्‍यो । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको डकुमेन्ट धेरैपछि खुल्यो, फेरि यस्तो हुनु भएन । यस्तो कूटनीतिक मर्यादाविपरीत काम भविष्यमा पनि गर्नुभएन ।

विगतको सरकारले गल्ती गर्‍यो, बलियो कम्युनिस्ट सरकारले गल्ती गरेको भएपनि सुधार्ने दिशामा पो जानुपर्‍यो । उसले गल्ती गर्‍यो भन्दैमा हामीले दोहोर्‍याउन त भएन नि । हाम्रो राष्ट्रिय स्वार्थलाई कतै आघात पर्छ कि पर्दैन नेपालको कानूनलाई सुपरसिड गर्छ कि गर्दैन, नेपालको कानूनभन्दा माथि नेपालको कानून नलाग्ने सम्झौताका दफाहरूको चर्चा भएको छ, यदि त्यस्तो छ भने त त्यसमा व्यापक छलफल हुनुपर्‍यो ।

सत्य त सत्य हुन्छ, दुईवटा हुँदैन । सत्य पत्ता लगाउँदा गल्ती भएको छ भने त्यसलाई सुधारेर बाहिर ल्याउन सक्ने सामर्थ्य कांग्रेसले राख्नुपर्छ, सरकारले राख्नुपर्छ ।

एमसीसीलाई संसद्मा छलफल गर्ने कुरामा प्रतिपक्षी दलहरूले पनि मान्नुपर्छ । उहाँहरूको जे–जे असहमति हो, संसद्मा राख्न त पाइयो नि ! संसद्मा अवरोधको अवस्था छ, अवरोधकाबीच पास गर् भन्नुभन्दा सबै विषयलाई छर्लङ्ग हुने किसिमबाट सरकारले श्वेतपत्र जारी गरोस्, संसद्मा सबै डकुमेन्ट पेश गरोस् ।

त्यसको आधारमा संसद्मा छलफल होस्, समितिमा छलफल होस्, डेटलाइन दिएर यति तारिखमा पारित गर्नैपर्छ भन्नु सार्वभौम देशका लागि स्वीकार्य हुन सक्दैन । नेताहरूले गल्ती गरेका छन् भने पनि एमसीसीबारे नेपालको संसद्ले व्यापक रूपले छलफल गर्न पाउनुपर्दछ । राष्ट्रिय हितमा भयो भने पास हुन्छ, राष्ट्रिय हितमा छैन भने पास हुँदैन ।

सम्बन्धित् समाचार