काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले पुरानो पार्टी (राप्रपा नेपाल)लाई पुनर्जागृत गरेको बताएका छन् । शनिबार राप्रपा नेपालको ‘घोषणा सभा’ लाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
‘०७६ फागुनमा महान ग्रन्थ गीता छोएर मैले राप्रपा कहिले नफुटाउने कसम खाएको सम्झना छ । धार्मिक र आध्यात्मिक राप्रपा मैले फुटाएको होइन । मैले चाहेको भए अहिले पनि राप्रपामा हामीप्रति स्नेह, सद्भाव र समर्थन राख्ने बहुसंख्यक केन्द्रीय सदस्य हुनुहुन्थ्यो,’ उनले भने, ‘साथीहरुले विधान र कानुन बमोजिम ४० प्रतिशत पुर्याएर पार्टी फुटाउँ भन्ने सल्लाह पनि दिनुभएको थियो, तर मैले चाहेनँ। पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्नेमा म विश्वास राख्दिनँ।’
राप्रपामा आफ्नो एउटा सामान्य मागलाई रद्दीको टोकरीमा फाल्ने काम भएको र एकपक्षीय र पूर्वाग्रह हिसाबले पार्टी सञ्चालनको काम भएपछि आफूले पार्टी छोडेको उनको भनाई छ ।








