काठमाडौँ : सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशललाई ३८ रनले हराउँदै काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगिता फाइनलमा पुगेको छ।
१ सय २९ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सक्यो। लुम्बिनीकी नेरी थापाले ३८ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाइन्। ओपनर आस्मा पुलामी मगर ३३ बलमा २ चौकासहित २२ रनमा आउट भइन्।
सुदूरपश्चिकी तीव्र गतिकी बलर कविता कुँवरले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिइन्। स्पिनर सम्झना खड्काले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन्। त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो।
सुदूरकी सम्झना खड्काले ४८ बलमा ५ चौकासहित सर्वाधिक ४२ रन बनाइन्। ऋतु कनोजिया ३४ बलमा ४ चौकासहित ३३ रन बनाइन्। तल्लोक्रमकी कविता जोशीले २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा आउट भइन्। लुम्बिनीकी नेरी थापाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिइन्। एपिएफ ३ खेलमा ३ मा नै जितका साथ फाइनलमा पुगि सकेको छ । फाइनल सोमबार हुनेछ।