काठमाडौँ : केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ। बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो।
विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए।
कहिलेकाहीँ मरेको जङ्गली जनावरको मासु पनि दिइन्छ। खोरमा भएको अवस्थामा केही स्वास्थ्य समस्या परेमा चिकित्सकले यसको स्वास्थ्य परीक्षण गर्छन्। प्रमुख संरक्षण अधिकृत आचार्यले कसरामा राखेर बाघको दैनिक बानी व्यवहारको अध्ययन गरिने जानकारी दिए।
गत माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट सामुदायिक वनमा घाँस–दाउराका लागि जाँदा नरभक्षी बाघले खाएको थियो। सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई सोही बाघले आक्रमण गरेर मारेको थियो। यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा सोही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो।
त्यस्तै केही समयअघि स्थानीय दुर्गा थारू सोही बाघको आक्रमणबाट घाइते भएका थिए। उनी सामान्य उपचारपछि घर फर्किएका थिए। त्यसैगरी फागुन पहिलो सातामात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको थियो। त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते भएका थिए।
पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको थियो। राप्ती सोनारी–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो।








