काठमाडौँ : लौटारो मार्टिनेजको ह्याट्रिकसँगै रेलिगेसनको दबाबमा रहेको सेलनिटानामाथि ५–० को सानदार जितसहित इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
यससँगै इन्टरले सिरी ‘ए’ मा पछिल्लो चार खेलको जितविहस्न यात्रामा समेत पूर्णविराम लगाएको छ । मार्टिनेजले डिसेम्बर यता गोल गर्न सकेका थिएनन् । सिरी ‘ए’ मा उनको यो ५०औँ गोल हो ।
२७ खेलबाट इन्टरको ५८ अंक छ । समान खेलमा दोस्रो स्थानको नेपोली र एसी मिलानको समान ५७ अंक रहेको छ । चौथो स्थानको युभेन्टसको ५० र पाँचौ स्थानको एट्लान्टाको ४७ अंक छ ।
२२औँ मिनेटमा मार्टिनेजले इन्टरका लागि गोल खाता खोलेका थिए । ४०औँ मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । ५६औँ मिनेटमा मार्टिनेजले इन्टरका लागि ह्याट्रिक पूरा गरेका थिए । त्यसको आठ मिनेटपछि इडेन जेकोले इन्टरका लागि चौथो गोल गरे ।
६९औँ मिनेटमा जेकोले गरेको गोलमा इन्टर सानदार जित पक्का गर्दै शीर्ष स्थानमा फर्किएको हो । इन्टरले मंगलबार च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो खेलमा लिभरपुलको सामना गर्दै छ । पहिलो लेगमा इन्टरले लिभरपुललाई नतिजा सुम्पिएको थियो ।








