सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिका वडा नं.११ मा जेष्ठ नागरिकहरुबीच अन्तरक्रिया तथा दिवा भोज कार्यक्रम सुरु भएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज वडा कार्य समिति बाणगंगा नगरपालिका वडा नं.११ को आयोजना तथा वडाको आर्थिक सहयोगमा उक्त कार्यक्रम आजबाट सुरु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सोमनाथ अर्यालले जेष्ठ नागरिक समाजका गहना भएको बताउनुभयो । जेष्ठ नागरिकका ज्ञान, अनुभव तथा विचारबाट समाजलाई विकासको गतिमा अगाडि बढाउन महत्वपूर्ण सहयोग मिल्ने वडाध्यक्ष अर्यालको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष अर्यालले घरमा रहेका आफ्ना जेष्ठ आमाबुवाको हेरचाहमा हरेक नागरिकले आफुलाई समर्पित गर्नेपर्नेमा जोडदिनुभयो । कार्यक्रममा जेष्ठ नागरिकहरुले खाना बस्नसंगै भजन किर्तनका कार्यक्रम गर्ने वडाध्यक्ष अर्यालले वैखरी अनलाईनलाई जानकारी दिनुभयो ।
यस्तै जेष्ठ नागरिक समाज वडा कार्य समितिका अध्यक्ष खेमकान्त पाठकले आफ्नो युवा उमेर घर परिवारको लागी समर्पित गरेको स्मरण गर्दै वडाले जेष्ठ नागरिकको क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो । “जेष्ठ नागरिकहरुको सम्मान सभ्यताको पहिचान” भन्ने मूल नाराको साथ कार्यक्रम सुरु भएको कार्यक्रममा ६० जना जेष्ठ नागरिकको सहभागिता रहेको छ ।








