कपिलवस्तु : कपिलवस्तुमा एक विद्यालयको रकम हिनामिना गरिएको तथ्य बाहिर आएको छ । विद्यालयको ७० हजार रुपैयाँ हिनामिना गरिएको रहस्य बाहिरिएको हो । जिल्लाको विजयनगर गाउँपालिकाको वडा नम्बर १ मा अवस्थित जनचेतना आधारभूत विद्यालय गोबरहवाको आर्थिक रकम हिनामिना गरिएको खुलासा भएको हो । फेरु थारु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएको बेलामा भाईका छोरा ९भतिजा० कृपाल चौधरीलाई ५० हजार रुपैयाँ नगद दिएको बताएका छन् । उनले उक्त रकम एक हप्ताभित्रै फिर्ता गर्ने भन्दै लगेको रकम अझैसम्म विद्यालयलाई नबुझाएको बताए ।
थारुले आफू विद्यालयको अध्यक्ष भएको बेला विद्यालयको जग्गामा नदीजन्य पदार्थ डम्पिङ गर्नका लागि मनकामना कन्ट्रक्शन प्रालि कम्पनीसँग ७० हजार रुपैयाँमा सम्झौता गरेका थिए । उनले २०७७ सालमा मनकामना कन्ट्रक्शन कम्पनीसँग सम्झौता गरि कारोबार गरेका हुन् ।
अध्यक्ष थारुले मनकामना कन्ट्रक्शन कम्पनीसँग ५० हजार रुपैयाँ बुझेको जनाए । फेरु थारुले कृपालले फिर्ता नगर्दा २ वर्ष बित्नै लाग्दा विद्यालयलाई बुझाउँन नसकेको दाबी गरे ।
विद्यालयको जग्गामा डम्पिङ गरे वापत कम्पनीले सम्झौता गरे बमोजिम कम्पनीसँग ५० हजार रुपैयाँ बुझेको तर कृपाल चौधरी आफ्नै घरको भाईको छोरो भतिजो भएको विश्वासले तत्काल काम चलाउन पैसा दिएको अध्यक्ष थारुको भनाइ छ । वर्तमान विद्यालय व्यवस्थापन समितिले पटक(पटक रकम बुझाउन आग्रह गरे पनि अझैसम्म दिन नसकेको बताए ।
कृपाल चौधरीले अध्यक्ष काकालाई बाँकी थप २० हजार रुपैयाँ बुझाउने भन्दै ठेकेदारसँग मागेको पनि रहस्य पनि बाहिरिएको छ । तर कृपाल चौधरीले न त अध्यक्ष, न त प्रधानाध्यापकलाई बुझाएका छन् ।
यता मनकामना कन्ट्रक्शन कम्पनी पक्षले ५० हजार अध्यक्ष फेरु थारु र २० हजार रुपैयाँ कृपाल चौधरीलाई बुझाएको जनाएको छ । स्थानीय कृपाल चौधरीले ७० हजार रुपैयाँ नै ठेकेदार कम्पनीसँग बुझेको व्यवस्थापन समितिसमक्ष स्वीकारसमेत गरेका छन् ।
विद्यालयको आन्तरिक कार्यका लागि आवश्यक परेपछि व्यवस्थापन समितिले कृपाल चौधरीलाई उक्त रकम विद्यालयमा गत साउनदेखि अहिलेसम्म १० औँ पटक बुझाउन अनुरोध गरे पनि विभिन्न बहाना देखाउँदै अटेरी गर्दै आएको समितिका एक सदस्यले बताए ।
यता विद्यालयका प्रधानाध्यापक ओेबी कुमारी मोहराले कृपाल चौधरीले विद्यालयलाई रकम नबुझाएको बताइन् । उनले दुर्गा प्रसाद मिश्र विद्यालयको प्रधानाध्यापक हुने बेला सम्झौता भएको बताउँदै त्यो रकम विद्यालयमा अहिलेसम्म नआएको र आफुलाई उक्त विषयमा थप कुनै पनि जानकारी नभएको उल्लेख गरिन् ।
कृपाल चौधरी गाउँघरमा जनताका अगाडी एक इमानदार व्यक्तिको रुपमा देखिए पनि भित्र चरम भ्रष्टाचारमा लिप्त हुँदै गैरकानुनी काम गर्दै आएका छन् । उनी राजनीतिक आडमा आफ्नै ट्रेक्टरमा दिनदाहाडै घर नजिकै रहेको बिशवा र गंगटे खोलाबाट चोरी निकासीसमेत गर्दै आएको स्थानीयले जनाएका छन् ।
कृपाल चौधरीले अहिले विजयनगर गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा कर्मचारीको रुपमा कार्यरत रहेका छन् । विजयनगर थारु कल्याणकारीणी सभाका सभापतिसमेत रहेका चौधरीले पछिल्लो समयमा आर्थिक लेनदेनको कारोेबारमा हिनामिना र अनियमितता गर्दै आएको स्रोतले बताएको छ । उनी केही वर्ष पहिला एक सामुदायिक बनको अध्यक्ष हुँदा बनबाट लाखौँको काठको चोरी निकासी गरि तस्करी गर्दै आएका थिए । उनको अबैध धन्दामा संलग्नता बढ्दै जाँदा एक पटक तस्करी कारोबारमासमेत मुछिएको गोप्य स्रोतबाट खुल्नमा आएको छ । व्यवस्थापन समिति, अभिभावक लगाय स्थानीयसमेत आक्रोशित भएका छन् ।