सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन गईरहेको १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तयारी सम्पन्न भएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो । महोत्सवको सतप्रतिशत काम सम्पन्न भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो । महोत्सवको भोलि विहिबार गृहमन्त्री बालकृष्ण खाँणले दिउँसो साढे २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ ।
जसका लागी गृहमन्त्री खाँण दिउँसो १ बजे महोत्सव स्थलमा आउँनु हुने छ । उहाँले गृहमन्त्री खाँण आउने भएपछि शान्ति सुरक्षाका लागी विभिन्न सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयसंग समन्वय भईरहेको बताउनुभयो । महोत्सवका संयोजक समेत रहनुभएका अध्यक्ष घिमिरेले आज महोत्सवको विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीसंग संयुक्त छलफल गरिएको बताउनुभयो । त्यस क्रममा विभिन्न शान्ति सुरक्षा, दर्शकको व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार लगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
अध्यक्ष घिमिरेले सबैबाट प्राप्त सल्लाह सुझावलाई आत्मासाथ गर्दै महोत्सवलाई सभ्य तवरबाट सम्पन्न गर्न आयोजक प्रतिवद्ध रहेको जिकीर गर्नुभयो । महोत्सवलाई आकर्षक बनाउन सुन्दरीकरणको काम, स्टलको काम, सचिवालय निर्माण, प्रवेशद्धार, स्टेज निर्माण लगायतका काम सम्पन्न भएको कपिलवस्तु उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले जानकारी दिनुभयो ।
महोत्सवको प्रवेशद्धारमा निर्माण गरिएको ५२ फिटको मिनी बुर्ज खलिफाले अहिले देशभरको ध्यान नै कपिलवस्तुतर्फ केन्द्रित भएको उहाँले दाबी गर्नुभएको छ । यस्तै महोत्सव स्थलमा गौतम बुद्ध, शिवको मूर्ति र गुम्बा निर्माणको काम सकिएर रंङरोगनको काम पनि सकिएको निर्देशक रेस्मीले बताउनुभयो । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।








