गृहपृष्ठ Featured प्रचण्डलाई धुँदाधुँदा वाग्मतीको पानी सकियो तर धुन सकिएन : ओली

प्रचण्डलाई धुँदाधुँदा वाग्मतीको पानी सकियो तर धुन सकिएन : ओली

प्रकाशित मिति:

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग चुनाव जित्‍नका लागि कुनै एजेण्डा नभएकाले एमाले नेतृत्वको सरकारको भण्डाफोर गर्ने अभियान चलाउन थालेको आरोप लगाएका छन्। कांग्रेसको चुनावी अभियानको ओलीले बिरोध गरेका हुन्।

एमाले निकट मुस्लिम संगठन इतेहादको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘अघिल्लो सरकारको भण्डाफोर गरेर जाने रे ! कांग्रेससँग अरु त केही छैन,’ उनले भने।

ओलीले राजनीतिक दलहरुले के गरे भनेर प्रश्न गर्नेहरुलाई राजाले २ सय ४० वर्षमा के गरे भन्ने प्रतिप्रश्न गरे। तीन वर्षमा एमालेले गरेका काम भन्न आफू तयार भएको ओलीले बताए।

‘यतिका वर्षसम्म दलहरुले के गर्‍यो रे! २ सय ४० वर्षमा राजतन्त्रले के गर्‍यो? ३ वर्षमा एमालेले के गर्‍यो हामी बताइदिन्छौं। दलहरुले त गर्नै पाएनन्। एकातिर राजाको गुट अर्कातिर माओवादीको लुट,’ ओलीले भने।

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सपार्न आफूले अनेकौं प्रयास गरेको दावी गरे। तर, प्रचण्डलाई सुधार्न नसकेको उनको भनाइ थियो। उनले वाग्मतीको पानी माओवादीलाई धुँदाधुँदा सकिएको टिप्पणी गरे।

‘मिलाउन सकिन्छ कि भनेर प्रचण्डलाई ल्याइयो। धुँदाधुँदा साबुनका डल्लाका डल्ला सकियो। माओवादीलाई पखाल्दा पखाल्दा वाग्मती नै रित्तियो। घरमै ल्याएर पनि पखालियो। माओवादीलाई पनि हामीले निलै स्याल हो कि भनेको। यो अरुलाई भनेको होइन, प्रचण्डलाई भनेको, ‘ओलीको भनाइ छ।

एमालेसँग एक्लै लड्न सक्ने अर्को राजनीतिक शक्ति नभएको ओलीको दावी थियो। उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई आंशिकरुपमा मात्रै बुझेकाले एमालेसँग एक्लै जित्न नसकिने बताएको दावी गरे। मुस्लिम संगठनका नेता कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा नगर्न ओलीले निर्देशन पनि दिए।

‘स्थानीय तहको निर्वाचन आइसक्यो साथीहरु लाग्नुस खट्नुस्। तपाईँहरु जनप्रतिनिधि हुनुस् तर अस्वस्थ्य लडाइ नगर्नुस्। मै हुनुपर्छ भनेर जिद्दि गर्नुहुँदैन,’ ओलीले भने।

सम्बन्धित् समाचार