काठमाडौँ : राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरुलाई आज काठमाडौँमा पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
उक्त अवसरमा मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उद्देश्य एवं संविधानको भावना र मर्मअनुसार जतिसक्दो छिटो कामगर्न आयोगका नवनियुक्त अध्यक्षहरुलाई निर्देशन दिइन् ।
मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य रहेको भन्दै आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनु पर्ने तथा भूमिसम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न आयोगका पदाधिकारी र नवनियुक्त अध्यक्षहरुलाई आग्रह गरिन् ।
उनले राखिएको लक्ष्य तथा उद्देश्य पूरा गर्न व्यवहारमा नै देखिने र नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिँदै कुनै आग्रह पूर्वाग्रहबिना सबै भूमिहीनले जग्गा प्राप्त गर्ने गरी कामगर्न सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरिन् ।
मन्त्री श्रेष्ठले अबको कही दिनभित्रै सुकुमबासीलाई लाालपुर्जा वितरणको काम सुरु गर्ने तयारी भइरहेको भन्दै अब छिट्टै सुकुम्बासीको हात हातमा लालपुर्जा पर्ने बताइन् ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले तोकिएको समय काम सम्पन्न गर्ने अपेक्षा रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
यसअघि २८ जिल्लामा राष्ट्रिय भूमि आयोगको जिल्ला आयोग गठन भइसकेको छ ।








