गृहपृष्ठ Featured रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा : देउवा र मोदीले उद्घाटन गर्ने

रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा : देउवा र मोदीले उद्घाटन गर्ने

काठमाडौं : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरिएको थियो। खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो।

पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ। यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु हुनेछ।

शनिवार रेल गाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए। अन्तरदेशीय रेल सेवाका रुपमा सञ्चालन हुने रेलमार्गमा जनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ।

उनी कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनेछिन् भने रेल पुनः जयनगर जाने उनले जानकारी दिए।

उनले भने, ‘रेलगाडीले स्वागत गरेर कुर्थासम्म जानेछ।’

शनिवार उद्घाटन भएपछि आइतवारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए। उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ।

सम्बन्धित् समाचार