काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन् ।
जनता समाजवादी पार्टी, नेपालको नेतृसमेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरुबीच गठबन्धन नभए पनि ठाउँ हेरेर त्यसको निक्र्यौल हुने पनि स्पष्ट पारिन् । शुक्रबार जनकपुरमा विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको स्पष्ट पारिन् ।
विचार, मन र नियत तीन वटै कुरा नमिल्ने भएकाले सो पार्टीसँग तत्काल चुनावी तालमेल हुने अवस्था नरहेको मन्त्री यादवको तर्क थियो ।
‘अहिले हामी गठबन्धन सरकारमा पनि छौं । त्यो विभिन्न ठाउँमा परिस्थितिवश हाम्रो गठबन्धन भएर अगाडि बढने अवस्था छ । सबै ठाउँमा नगरे पनि कुन–कुन ठाउँमा कसरी गर्नुपर्छ रु भनेर त्योचाहिँ हामी गर्छौं । कुनै पनि सम्भावना समाप्त हुँदैन । राजनीतिमा हरेक सम्भावना परिस्थितिवश अगाडि बढछ । लोसपाको पनि विचार मिल्यो भने हामी सोच्न सक्छौं तर विचारै हामीसँग मिल्दैन । त्यसैकारणले गठबन्धन पनि विचारबाट, मनबाट र नियतबाट मिल्नुपर्छ । नियतै नमिल्दाखेरी त हात जोडेर मात्रै भएन । तर सम्भावना भने अन्त्य हुँदैन,’ उनले भनिन् ।
मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहोर्याइन् । परिस्थितिअनुसार विभिन्न दलहरुसँग चुनावी तालमेल गर्दै अघि बढने पनि उनको भनाइ छ ।








