गृहपृष्ठ Featured राजु लामा र दीया पुन सगरमाथा आरोहणमा

राजु लामा र दीया पुन सगरमाथा आरोहणमा

काठमाडौं : गायक राजु लामा र अभिनेत्री दीया पुनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहण सफलताको शुभकामना दिएका छन् ।

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन हिमाल आरोहण गर्न राजु र दीयालाई मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री आलेले शुभकामना पत्रसहित झण्डा हस्तान्तरण गरेका हुन् ।

चैत २७ गते सगरमाथातर्फ प्रस्थान तयारी गरेका गायक लामाले सगरमाथा आरोहणसँगै ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत गरेर विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट कीर्तिमान राख्ने भएकाक छन् ।

अभिनेत्री पुन भने चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले दीयाले हिमाल आरोहण गर्न लागेका हुन् ।

क्याम्प दुईमा गर्ने कन्सर्टमा गायक लामाले आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित गीत गाउने छन् । उनी तीनजना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरोतर्फ लाग्नेछन् । लामाले कन्सर्टका लागि गितार लिएर हिमाल चढ्ने बताएका छन् ।

मन्त्री आलेले दुवै सेलिब्रिटी आरोहीलाई सघाउन सरकार तयार रहेको बताए । ‘उहाँहरुले मागेको सहयोग दिन सरकार तयार छ,’ मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला ।’

सरकारले चाँडै सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको समेत मन्त्री आलेको भनाई छ । बढीभन्दा बढी पर्यटकलाई नेपाल ल्याउन ओडीसी इन्टरटेनमेन्टसँग मिलेर बलिउड अभिनेता सलमान खानको कार्यक्रम गर्न लागिएको मन्त्री आलेले बताएका छन् ।

कार्यक्रममा उपस्थित फिल्म निर्देशक मिलन चाम्स, पाइलट तथा अभिनेता विजय लामा, पर्वतारोही क्षेत्रका प्रतिनिधिले लगायतले लामा र पुनलाई शुभकामना दिएका थिए ।

सम्बन्धित् समाचार