गृहपृष्ठ Featured भरतपुरको मेयरमा माओवादीले पैँचो तिर्ने बेला आयो : जिल्ला सभापति खनाल

भरतपुरको मेयरमा माओवादीले पैँचो तिर्ने बेला आयो : जिल्ला सभापति खनाल

चितवन : नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुन सक्ने बताउनुभएको छ । आज शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले गएको पालिका चुनावमा नेकपा ९माओवादी केन्द्र० लाई सहयोग गरेको भन्दै उहाँले यस पटक कांग्रेसलाई सहयोग गर्न माओवादीलाई आग्रह गर्नुभयो ।

सभापति खनालले भन्नुभयो, ‘समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो होइन । कार्यकर्तालाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर यहाँ मत खसाल भन्न सकिँदैन । यसले चुनावको नतिजा सोचेको भन्दा फरक आउन सक्छ । कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्छ । यसबारेमा नेताहरुले पुनर्विचार गर्नुपर्छ ।’

उहाँले नेपाली कांग्रेस पार्टीले भरतपुर महानगरपालिकाको मेयर नछोड्ने पनि बताउनुभयो । २०७४ सालको चुनावमा आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब माओवादीले नेपाली कांग्रेसलाई तिर्नुपर्ने उहाँले जिकिर गर्नुभयो ।

सभापति खनालले भन्नुभयाे, ‘चितवनसँग र नेपाली कांग्रेससँग अहिले दुई वटा सम्बन्ध जोडिएको छ । एउटा हामी नेपाली कांग्रेसमा आबद्ध छौँ । हाम्रो केन्द्रीय सभापति शेरबहादुर देउवा हुनुहुन्छ, जो गठबन्धनकै प्रधानमन्त्री हुनुहुन्छ । साथै गठबन्धनको अर्को बलियो पार्टनरका रूपमा माओवादी केन्द्रका पुष्पकमल दाहाल आउनुभएको छ । उहाँ चितवन जिल्लाकै मान्य सांसद हुनुहुन्छ । त्यसैले उहाँले यो गठबन्धनलाई जीवित राख्नका लागि र सँगै उहाँको कार्यक्षेत्र पनि चितवन भएका कारणले यहाँका राजनीतिक पार्टीहरूका बीचमा उहाँ माआवादी केन्द्रको नेता भए पनि उहाँले नेपाली कांग्रेसलाई पनि बराबर माया गर्नुपर्दछ । गठबन्धनको सैद्धान्तिक र व्यवहारिक पक्ष भनेको आलोपालो हो । २०७४ मा हामीले सहयोग गर्‍याैँ अब २०७९ मा तपाईँले सहयोग गर्नुहोस् ।’

उहाँले महानगरपालिकाकाे अन्य पदमा भने गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताउनुभयो । सभापति खनालले यसबारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीलाई जानकारी गराएको पनि बताउनुभयो । गएकाे चुनावमा कांग्रेसले माओवादीलाई सहयाेग गरेकाे र यस पटक कांग्रेसलाई सहयोग गरे गठबन्धन बच्ने र संविधानको रक्षा पनि हुने उहाँकाे भनाइ छ ।

सभापति खनालले नेपाली कांग्रेस चितवनले आफ्ना कार्यकर्ताको भविष्य सुरक्षित गर्न र पार्टीलाई जीवन्त दिनका लागि तथा यस पटक महानगरको नेतृत्व लिन चाहेको पनि बताउनुभयो । उहाँले पार्टीकाे केन्द्रीय समितिबाट गरिएको परिपत्रअनुसार नै आफू अगाडि बढ्ने तर पार्टीले यस पटक भरतपुर महानगरपालिकाको मेयरमा दाबी नछोड्ने बताउनुभयो ।

सभापति खनालले भन्नुभयो, ‘हामी स्थानीय तह चुनावमा गठबन्धनका दलहरूबीचको तालमेललाई पार्टीकाे केन्द्रीय समितिले गरेको निर्णयलाई आत्मसात् गर्दछौँ । तर भरतपुर महानगरकाे हकमा यस पटक हाम्रो पालो हाे । भरतपुरकाे मेयरमा नेपाली कांग्रेसको उम्मेदवार कायम गर्दिनका पार्टीकाे केन्द्रीय समिति, केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीलाई हामीले विशेष आग्रह गर्ने निर्णय पनि गरेका छाैँ ।’

सभापति खनालले चितवनकाे महानगरपालिका क्षेत्रमा पार्टीकाे ऐतिहासिक पृष्ठभूमि गर्विलो रहेको पनि बताउनुभयो । उहाँले विभिन्न आन्दोलनमा चितवनबाट नेपाली कांग्रेसले गरेको नेतृत्व र पार्टीप्रतिको विश्वासले पनि महानगरमा कांग्रेसको छुट्टै पहिचान रहेको बताउनुभयो ।

सम्बन्धित् समाचार