काठमाडौँ : अभ्यास थालनी गर्ने दिन पत्रकार सम्मेलनमा योजनासहित उपस्थित भएका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल चीनमा हुने एएफसी एसियन कपमा छनोट हुन कठिन हुने बताए।
आफ्नो समाजिक सन्जालबाट केही दिनअगाडि नेपाली फुटबलको बारेमा टिप्पणी लेखेका अल्मुताइरीले शुक्रबारको पत्रकार सम्मलेनमा पनि उस्तै अभिव्यक्ति दिए।
‘हामी एसियन कप छनोट हुन सक्दैनौं। यो सत्य हो। एसियन कप छनोट हुनका लागि हामी धेरै पछि छौं। तपाई सपना देख्न सक्नुहुन्छ। सपना पनि देख्नुपर्छ। तर, सत्य यो हो कि हामी छनोट हुन सक्दैनौं,’ राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले दशरथ रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘छनोट सबै टिमका लागि महत्त्वपूर्ण छ। हामीले सक्दो लडाइँ गर्नेछौं। हामीसँग छनोट हुने सम्भावना छ। तर कठिन छ। सपना ठूलो देखे पनि वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल छ। प्रयास छनोट हुनका लागि हुनेछ।’
पहिलो दिनको अभ्यासपछिको पत्रकार सम्मेलनमा उत्रिएका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले नेपाली टोली जुन लक्ष्यका साथ तयारी गरिरहेको छ, सो लक्ष्यमा पुग्न निकै कठिन हुने कारण पनि खुलाए। नेपालमा व्यावसायिक खेलाडी नभएको तथा फुटबलका लागि उमेरसमूहका खेलाडीको ब्याकअप नभएको भन्दै घुमाउरो भाषामा सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को आलोचना गरे।








