गृहपृष्ठ Featured तनहुँमा कांग्रेस नेता जोसी समूह र नेकपा एमालेबीच चुनावी तालमेल

तनहुँमा कांग्रेस नेता जोसी समूह र नेकपा एमालेबीच चुनावी तालमेल

दमौली : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल भएको छ । कांग्रेस तनहुँलाई वार्तामार्फत एक बनाएर अगाडि बढाउन नेता जोशीले ल्याएको प्रस्तावलाई वेवास्ता गरिएपछि जोशी समूहले एमालेसँग तालमेल गरेको हो ।

तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गरेको कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिए। तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनावमा साझा उम्मेदार बनाउने सहमति भएको छ । जोशी निवास दमौलीमा शनिबार भएको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएकाले साझा उम्मेदवारी दिने भएको हो । छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ ।

जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गरिएको छ । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवारी दिने सहमति भएको छ । १९ वर्षदेखि सत्ता बाहिर रहेका जोशी विकासवादी नेताको रुपमा जिल्लामा परिचित छन। उनको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो । ‘एक घर एक रोजगारी’ अभियान सञ्चालन गरेका नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् ।

नेता जोशीले कांग्रेसको तर्फबाट सङ्घीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा जनताको तर्फबाट चुनाव लड्ने घोषणा गरेका थिए। नेपाली कांग्रेस तनहुँका संस्थापक सचिवहुँदै केन्द्रमा सहमहामन्त्री समेत बनेका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधारण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् ।

रुष्ट जोशी समूहले एमालेसँग चुनावी तालमेल गरेपछि तनहुं कांग्रेसलाई ठूलो क्षति हुने देखिएको छ । जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारका लागि सिफारिस भएका दीपकराज जोशीलाई एमालेले सघाउने भएको छ । त्यसैगरी अन्य पालिकामा पनि सहमति हुनेछ ।

सम्बन्धित् समाचार