बुटवल : आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । शनिबार दुवै पार्टीका बीचमा भएको सहमति अनुसार उपमहानगरपालिकामा दुवै पार्टीले मिलेर निर्वाचनमा जाने सहमति गरेका हुन्। जसअनुसार उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख, १९ वटै वडा अध्यक्ष समेत ८६ पदहरूमा नेकपा एमाले र ११ जना वडा सदस्यहरू राष्ट्रिय जनमुक्ति पार्टीबाट उठाइने सहमति भएको हो ।
नगरप्रमुख, उपप्रमुख, १९ वटा वडाका अध्यक्ष र सदस्यहरू गरी बुटवलमा ९७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । नेकपा एमालेका रूपन्देही सदस्य यम पाण्डेले राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्वाचनमा जाने ११ जना सदस्यका उम्मेदवारहरू पनि नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाटै चुनाव लड्ने छन् । दुई पार्टीका बीचमा भएको सहमति अनुसार निर्वाचन कार्यालय स्थापना, प्रचार प्रसार लगायत स्थानीय निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरू समेत दुवै पार्टीले संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।
एमालेका बुटवल नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर कमिटीका अध्यक्ष भेकबहादुर सारु मगरले दुबै पार्टीका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गरेका थिए । यसअघिको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेको राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा आफू तेस्रो ठूलो दलको रूपमा रहेको दाबी गर्दै आएको छ ।
वडा नं. १०, ११ लगायतका वडाहरूमा मगर तथा गुरूङ समुदायको बाहुल्यता रहेको र आफूहरूको उपस्थिति बलियो रहेको जनमुक्ति पार्टीका नगर अध्यक्ष सारुले बताए । सारुका अनुसार अघिल्लो निर्वाचनको मत परिणाम अनुसार बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीका मत १ हजार ५ सयभन्दा बढिरहेको छ ।








