स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्यामा उम्मेदवारी परेको हो ।
यो सङ्ख्या मंगलबार राती ९ बजेसम्मको भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारको दलगत स्थिति प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ ।
आयोगको विवरण अनुसार प्रमुख पदमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्क छ ।
त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ । उपप्रमुखमा राप्रपाबाट २२७ उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसबाट २१० उम्मेदवारी परेको देखिएको छ । सोहीअनुसार उपाध्यक्ष पदका लागि काँग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३१४ जनाको उम्मेदवारी दर्ता भएको छ ।








