पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० गठन गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला छन्।
कतिपय केन्द्रीय सदस्यलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षड्यन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताए।
बम
उनले आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधीनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पारे।
‘महासचिव विप्लव समूह कतिपय केन्द्रीय सदस्यहरूलाई नै एमालेको चुनाव चिह्न लिएर निर्वाचनमा उठाउनेजस्तो संसदवादमा लालायित भएपछि आफूहरूले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौँ,’ उनले भने, ‘संक्षेपमा यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो। त्यसका लागि हामीले समृद्धि र स्वाधीनताको नारालाई अघि सारेका छौँ। केपी ओली, प्रचण्डहरूले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि आफूहरूले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौँ।’
सो पार्टीले पत्रकार सम्मेलनमा जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरू प्रतिबद्ध रहेको पनि जनाएको छ।








