गृहपृष्ठ Featured रुकुम पश्चिम माओवादी केन्द्रका अध्यक्ष प्रहरीको नियन्त्रणमा

रुकुम पश्चिम माओवादी केन्द्रका अध्यक्ष प्रहरीको नियन्त्रणमा

रुकुम पश्चिम : प्रहरीले नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्षलाई नियन्त्रणमा लिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश खड्कालाई प्रहरीले पक्रेको हो । ९ नम्बर वडामा रहेको प्रहरी चौकी तोडफोड गरेको आरोपमा खड्कालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । प्रहरीले त्रिवेणी गाउँपालिका २, सिम्रुतुबाट खड्कालाई नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सोधपुछका लागि खड्कालाई ल्याएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वैशाख २२ गते बिहान माओवादी कार्यकर्ताले प्रहरी चौकी तोडफोड गरेका थिए । चौकीमा रहेका कांग्रेस कार्यकर्तामाथि पनि कुटपिट गरेका थिए । त्यस क्रममा कांग्रेसका ७ जना कार्यकर्ता घाइते भएका थिए ।

यसैगरी जिप तथा मोटरसाइकल तोडफोड र जलाएको आरोपमा २ जना वाईसिएल पक्राउ परेका छन् । विशाल ओली र प्रेमप्रकाश ओलीलाई प्रहरीले पक्रेको हो ।

सोमबार बिहान आठबीसकोट नगरपालिका १०, मा प्रचारप्रसारका लागि पुगेका कांग्रेस कार्यकर्ताको एउटा मोटरसाइकल जलाइएको थियो भने २ मोटरसाइकल र एउटा जिप तोडफोड गरिएको थियो । सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा माओवादी र कांग्रेस कार्यकर्ताबीच दिनहुँ झडप भइरहेको छ । चौकी तोडफोडपछि प्रदेश प्रहरी कार्यालयले चौकीमा भएको क्षति र घटनाबारे अनुसन्धान गरेको थियो । तर, प्रहरी चौकीमा भएको क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन । झडप बढ्दै जाँदा समस्या भएको भन्दै दुवै दलका जिल्ला प्रमुखले संयुक्त अपिल जारी गर्दै झडप र तोडफोडमा नउत्रन आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार