मनोज पौडेल (कपिलवस्तु) : बुद्धभूमि नगरपालिका–४ गेलवारकी गंगा थारू अहिले जंगलमा महुवाका फल टिप्न व्यस्त छन् । ‘चुनावभन्दा पेटको चिन्ता जो छ,’ उनले भनिन्, ‘त्यही भएर हामी बिहानदेखि साँझसम्म जंगलमा महुवा टिप्न जान्छौं ।’ नेताहरू आश्वासन मात्र दिन्छन् । भोको पेटले केही हुँदैन । चुलोचौकोका लागि महुवा टिप्न जानु बाध्यता बनेको उनले बताइन् । ‘मत दिन जाँदैनौं होला,’ उनले भनिन्, ‘यतै सुखदुःखले महुवा टिप्छौं ।’
उनी जस्तै विजयनगर गाउँपालिका कृपालनगरकी सरिता थारू पनि जंगलमा महुवाकै फल टिप्न व्यस्त छन् । उनी सखारै नजिकका वनजंगल गएर दिनभरिमा सात/आठ किलो टिप्छिन् । ‘नेताहरूले गरिब–दुःखीको पीरमा मलम लगाउन सकेनन्,’ उनले भनिन्, ‘त्यसैले मत दिन जान मनै छैन ।’
जिल्लामा स्थानीय तह निर्वाचनको चुनावी चहलपहल उत्कर्षमा पुगेको छ । उम्मेदवार घरदैलोमा पुगिरहेका छन् । तर, वन आसपासका बासिन्दा भने औषधीय गुणयुक्त महुवाको फल टिप्न व्यस्त छन् । उनीहरूलाई चुनावको चटारोभन्दा साँझ–बिहानको छाक जुटाउने चिन्ता छ ।
यहाँको बुद्धभूमि नगरपालिकाको गेलवार, रनगाई र विजयनगर गाउँपालिकाको त्रिपालनगर एवं महुवाबारीका स्थानीयको दैनिकी बिहानदेखि साँझसम्म महुवाको फल संकलनमै बित्ने गरेको छ । गेलवार गाउँको एकता महिला समूहमा आबद्ध १ सय ३० जना बालबालिकादेखि वृद्धवृद्धासम्म अचेल यही फल संकलनमा लागेका छन् । उनीहरू वनजंगल चहारेर समूहमा जंगली फल संकलन गर्छन् । साँझ सानादेखि ठूलाले भाग लगाएर समान रूपमा बाँडचुँड गर्छन् । अन्य ठाउँमा व्यक्तिगत रूपमा संकलन गर्ने पनि छन् ।
महुवाको फल चैत, वैशाख र जेठमा आफैं रूखबाट झर्ने गर्छ । त्यही झरेको फल संकलन गरिन्छ । वन क्षेत्र आसपासका स्थानीय महुवाको रूखमुनि बिहानदेखि साँझसम्म जम्मा भएर टिप्छन् । ‘महुवा संकलन गर्न मात्र गाह्रो छ,’ स्थानीय तिलकराम खनालले भने, ‘बेच्न निकै सजिलो छ ।’ व्यवसायीहरू घरघरै आएर किनेर लैजाने उनले सुनाए । महुवाको फललाई काँचै र सुकाएर पनि बेचिन्छ । महुवाको फल बेचेर स्थानीय घरगर्जो टार्छन् ।
यो फल प्रतिकिलो डेढदेखि २ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । हरेक व्यक्तिले प्रतिदिन ८/१० किलो काँचो फल संकलन गर्छन् । त्यसलाई सुकाएर बेच्छन् । स्थानीय जेठ दोस्रो सातासम्म फल संकलन गर्दै सुकाएर राख्छन् । फल बेचेर उनीहरूले महिनाको १० देखि १२ हजार रुपैयाँसम्म कमाइरहेको बताए । यसले लुगाफाटोदेखि घर व्यवहार गर्न धेरै सहज भएको उनीहरूले बताए । बालबालिकालाई पठनपाठनमा पनि सहयोग पुर्याएको छ । केही रकम गाउँटोलको सामाजिक कामका लागि प्रयोग गर्ने गरेको गेलवारका किशु थारूको भनाइ छ । स्थानीय महुवाको फललाई मदिरा बनाउन बढी प्रयोग गर्छन् ।
‘चेपाङलाई चिउरीजत्तिकै थारूलाई महुवाको महत्त्व हुन्छ,’ संरक्षणकर्मी तिलक ढकालले भने, ‘थारूले महुवा रूख कहिल्यै पनि काट्दैनन् ।’ थारू समुदायको जीवनशैलीसँग जोडिएको छ यो फल । उनीहरूको पूजाआजामा महुवा नभई हुँदैन । महुवा पवित्र र शुद्ध मानिने हुँदा थारूहरू हरेक काममा यसको प्रयोग गर्छन् । ‘यसको फल र यसबाट बनाइएको मदिरा थारू समुदाय पूजाआजामा चढाउँछन्,’ संरक्षणकर्मी ढकालले भने ।
यो एउटा औषधीय गुण भएको वनस्पति हो । यसको फूल, फल, बीज र पात सबै आयुर्वेदमा प्रयोग गरिने जिल्ला आयुर्वेद अस्पताल प्रमुख डा. प्रवेश श्रीवास्तवले बताए । यसले छाला, दाँत र जोर्नीको दुखाइ, पेटको रोग र अल्सरका लागि औषधीय काम गर्छ ।
महुवाको काँडाले ज्वरो र सुगरका बिरामीलाई फाइदा गर्छ । हिन्दुहरूले पनि पूजाआजामा महुवाको फल प्रयोग गर्छन् । त्यही भएर यसको माग बढी छ । यसमा परजीवी संक्रमणसँग लड्ने क्षमता हुन्छ ।
महुवाको तेल निकालिन्छ । महुवाको फल पिसेर रोटी बनाएर खान सकिन्छ । महुवाको खली जनावरलाई ख्वाइन्छ । खेतमा राखे राम्रो उर्वरा शक्ति मिल्छ । काँचो फलको तरकारी पनि खाइन्छ । जाम बनाइन्छ । सेनिटाइजर बनाउन सकिन्छ । साबुन र सर्फ बनाउन पनि यसको उपयोग हुन्छ । फलभित्रको दानाबाट तेल निकालिन्छ । सालको जस्तो ठुल्ठूला पात हुन्छन् । २५ मिटरसम्म अग्लो हुन्छ । महुवामा कार्बोहाइड्रेट, प्रोटिनका साथै क्याल्सियम, फस्फोरस, आइरन र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ ।