गृहपृष्ठ Featured स्टिल कारखानामा फसेको सयौँ युक्रेनी सैनिकको उद्धार

स्टिल कारखानामा फसेको सयौँ युक्रेनी सैनिकको उद्धार

युक्रेनले मंगलबार दुई महिना भन्दा लामो समयदेखि मारिउपोल सहरको एजोभ्स्टल स्टिल कारखानामा फसेका आफ्ना सयौँ सेनालाई उद्धार गरिएको पुष्टि गरेको छ । उपरक्षामन्त्री हान्ना मालियारले अत्यन्तै नराम्ररी घाइते भएका ५३ जना सैनिकलाई रुस समर्थित लडाकुहरूको नियन्त्रणमा रहेको नोभोआजोभ्स्क सहरमा लगिएको बताएकी छन् ।

उनले अन्य २११ जनालाई मानवीय उद्धार मार्गमार्फत लडाकुको कब्जामा रहेको अर्को सहर ओलेनिभ्कामा पुर्‍याइएको बताएकी छन् । रुसले यसअघि घाइते युक्रेनी फौजलाई बाहिर लाने विषयमा एउटा सम्झौता भएको बताएको थियो ।

रोयटर्सले सोमबार साँझ दक्षिणी बन्दरगाह सहर मारिउपोलस्थित विशाल औद्योगिक क्षेत्रबाट लामो समयदेखि स्टिल कारखानाको भूमिगत तल्लामा लुकिरहेका युक्रेनी फौज बोकेर गएका करिब एक दर्जन बस देखिएको जनाएको छ ।

आफ्नो भिडियो सम्बोधनमा मंगलबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनी सेना, गुप्तचर निकाय, बार्तामा संलग्न टोलिहरू, रेडक्रस तथा संयुक्त राष्ट्र संघको यस उद्धार अभियानमा सहभागिता रहेका छन् । युक्रेनलाई आफ्ना योद्धाहरू जीवित चाहिन्छ । उनीहरूलाई तत्कालै रुसी फौजले मुक्त गर्ला जस्तो छैन । यसका लागि अर्को वार्ताको आवश्यकता हुने छ ।’

सम्बन्धित् समाचार