काठमाडौं : नेपाल सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्नुअघि अमेरिकाले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध चार विकेटको विजय हासिल गरेको छ ।
अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मै स्कटल्यान्ड र यूएई सम्मिलित त्रिदेशीय शृंखलामा विजय हासिल गरेको हो । टेक्ससको पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो भने २०४ रनको लक्ष्य अमेरिकाले ४४।५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
जितसँगै अमेरिकाले १९ खेलबाट १८ अंक जोडेको छ । अमेरिका चौथो स्थानमा छ । २० खेलबाट २२ अंक जोडेको युएई तेस्रो स्थानमा छ । ३२ खेलबाट ४० अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १९ खेलबाट २८ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । १२ खेलबाट १२ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
युएईका लागि चुन्दनगापोयल रिजवानले सबैभन्दा धेरै ६७ रन बनाएका थिए । बासिल शारफुले ३२ रन बनाउँदा कासिफ दाउद र राहुल भाटियाले समान अविजित २४ रन बनाएका थिए । चिराग सुरीले २३ रन बनाए भने बृत्या अरविन्दले १९ रन बनाएका थिए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।








