गृहपृष्ठ Featured तारा एयरको पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित

तारा एयरको पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित

कास्की : तारा एयरले पोखरा-जोमसोमको उडान एक साताका लागि बन्द हुने भएको छ । शुक्रबारेदखि जेठ २७ सम्मका लागि उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणवश उक्त रुटमा उडान बन्द गरिने भएको जनाएको हो । सूचनाअनुसार पोखरा–जोमसोम र जोमसोम–पोखराको उडान बन्द गरिनेछ ।

पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले आफूले पनि समाचारबाट नै जानकारी भएको बताए । तारा एयरका पोखरा प्रमुख राम लामिछानेले उडान बन्द बारे बोल्न चाहेनन् । आइतबार विहान ९ बजेट ५५ मिनेट जादाँ पोखराबाट जोमसोमको लागि छुटेको तारा एयरको विमान दुर्घटना भएको थियो ।

सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा विमान दुर्घटना भएको अवस्थामा भेटिएको थियो । चालक दलका ३ जनासहित दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा मृत्यु भएकाहरूको शव सोमबार र मंगलबार गरी दुई दिन लगाएर भेटिएको थियो । शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि मृतकको शव बिहीबार आफन्तलाई बुझाइएको छ । सरकारले विमान दुर्घटनाको विषयमा जाँच गर्न एक आयोग गठन गरेको छ । उक्त आयोगलाई विमान दुर्घटनाको कारण र आगामी दिनमा दुर्घटना हुन नदिन चालिनुपर्ने कदरबारे सुझाव दिन कार्यादेश सरकारले दिएको छ ।

सम्बन्धित् समाचार