काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चुनावी समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै समग्र समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई प्रदेशगत जिम्मेवारी समेत तोकेको छ ।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनप्रति आफूहरु बेहद असन्तुष्ट रहेको बताए । ‘हामी अलिक हैन, बेहद असन्तुष्ट छौं,’ खनालले भने, ‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक रुपले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो हामीले पाँच दलभित्र पनि राखेका छौं । हामी आफैंले पनि समीक्षा गर्दैछौं ।’
उपमहासचिव गंगालाल तुलाधरले पनि आफूहरु इमान्दार भए पनि गठबन्धनमा आफूहरुमाथि धोका भएको टिप्पणी गरे ।








