कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका–२ कि २३ वर्षीया युवतीलाई जबरजस्ती करणीको प्रयास भएको छ । जेठ २० गते शिवराज नगरपालिका–३ मा रहेको आफ्नो मामाघरबाट फर्किने क्रममा शिवराज नगरपालिका–२ मद्रहवाका ओम प्रकाश चौधरीले घर पुराइदिने बाहनामा बलात्कारको प्रयास गरेको पिडितले आरोप लगाएकी छिन् ।
घटनाको दिन पीडित मामाघरबाट फर्कने क्रममा चन्द्रौटा बजार गई किनमेल गरी फर्कदा कुनै सवारी साधन नपाएपछि राति करिब ८ बजे आरोपी चौधरीको टिप्परमा बसी मद्रहवासम्म आएको र त्यहाँबाट सोहि व्यक्तिले आफ्नो बाइकमा घरमा पुराइदिन्छु भनी विजयनगर गाउँपालिकाको त्रिपालनगरबाट जर्लैया जाने जंगलको बाटोमा बाइक रोकी जंगलमा लगी जबरजस्ती करणी प्रयास गरेको पीडित युवतीले बताएकी छिन् । पीडित युवतीले इलाका प्रहरी कार्यालय गणेशपुरमा घटना सम्बन्धी जाहेरी समेत दिएकी छिन्।
पीडितको उजुरी पछि आरोपीको खोज–तलास गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । आरोपीले चलाउने रा १ ख ७१८ नम्बरको टिप्पर घरमै रहेको तर, आरोपी फरार रहेकोले पक्राउ पुर्जी जारी गरी खोजी कार्य गरिरहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख विजयराज तिमिल्सीनाले बताए ।








