बुटवल : नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ ।
चिया क्षेत्रमा क्रियाशील विभिन्न संघरसंस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा कफी विकास बोर्डले असार ३ र ४ गते बृहत चिया प्रदर्शनी आयोजना गर्न लागेको हो ।
‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिने, सही चियाको सही रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गरिएको हो ।
बोर्डले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल मिलनचोकस्थित सिद्दार्थ कटेजमा प्रदर्शनी गर्न लागेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले जानकारी दिए । प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनीका साथै नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको निस्शुल्क स्वाद लिन पाइने उनले बताए ।








