बुटवल : सरकारको विभेदकारी कर नीतिका कारण स्टील तथा वायर्स उद्योग विस्थापित हुने अवस्थामा पुगेको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीसहित मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
सरकारले सीमित उद्योगीलाई फाइदा पुग्ने गरी बजेटमा करको दर तय गरेपछि धेरै उद्योगी तथा मजदुर समस्यामा परेको भन्दै रुपन्देहीका ८ वटा छड उद्योगका सञ्चालक र त्यहां कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले पेश गरेको आर्थिक विधेयक २०७९ ले फलामे डन्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क पूर्ण छुट गरेको छ ।
बिलेट्स आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमै २ हजार ५ सय रुपैयाँ लाग्दै आएको अन्तःशुल्कलाई बढाउँदै ३ हजार ५ सय प्रति मेट्रिकटन कायम गरेको छ ।








