गृहपृष्ठ Featured राज्यमन्त्री विमला वली भन्छिन्– मलाई फसाउने षड्यन्त्र भयो

राज्यमन्त्री विमला वली भन्छिन्– मलाई फसाउने षड्यन्त्र भयो

रुपन्देही : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफूलाई बद्नाम गरी फसाउने षड्यन्त्र भएको आरोप लगाएकी छन् । उनले सापटी रकम लामो समयसम्म फिर्ता नगरेपछि एकराज बस्नेतको घरमा गएको तर कसैलाई कुटपिट नगरेको दाबी समेत गरिन् ।

गत जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनका परिवारका सदस्यमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो । यद्यपि घटना भएको एक सातासम्म प्रहरीले उनीविरुद्धको जाहेरी दर्ता गरेको छैन ।

राज्य मन्त्री विमलालाई मुख्यमन्त्रीको निर्देशनमा जेठ ३१ गते नै बुटवल पठाइएको थियो भने स्वास्थ्य अवस्था बिग्रिएको भन्दै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी हाल दाङको घोराहीस्थित आफ्नो घरमा आराम गरिरहेकी छन् ।

एकराज बस्नेतकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिएकी छन् । तर एक हप्ता बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन ।

राज्यमन्त्री विमलाले अहिले आफू घरमै आराम गरिरहेको बताइन् । दुई दिन लुम्बिनी प्रादेशिक अस्पतालमै बसेर उपचार गराएको र डिस्चार्ज भएपछि दाङस्थित घरमा आराम गरिरहेको उनले बताइन् ।

सम्बन्धित् समाचार