गृहपृष्ठ Featured काठमाडौं महानगरको बजेट २५ अर्ब बढी

काठमाडौं महानगरको बजेट २५ अर्ब बढी

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ। महानगर उपप्रमुख सुनीता डंगोलले नगर सभाको एघारौं अधिबेशनमा आर्थिक वर्ष २०७९/८०  को बजेट प्रस्तुत गर्दै महानगरको नीति तथा कार्यक्रमलाई सफल बनाउन आगामी आर्थिक वर्ष २०७९/८० को लागि  २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको बताइन्।

यसअन्तर्गत काठमाडौं महानगरपालिकाको संचित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार र सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी स्थानीय संचित कोष बाहेकको बजेटमा समाबेश हुने कूल ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहेको छ।

स्थानीय संचित कोषबाट खर्च हुने रकममध्ये आर्थिक बिकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि ५० करोड २१ लाख २४ हजार  बिनियोजन गरिएको छ। जुन कुल बजेटको २.२४ प्रतिशत हुन आउँछ। कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार बिनियोजन गरिएको छ। जुन कुल बजेटको २०.९६ प्रतिशत हुन्छ। पूर्वाधार विकास क्षेत्रको लागि ११ अर्ब  ८ करोड ८९  लाख ३ हजार बजेट विनियोजन गरिएको छ। जुन कुल बजेटको ४९.५७ प्रतिशत हुन आउँछ।

सामाजिक विकास क्षेत्रको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार बजेट बिनियोजन गरिएको छ, जुन कुल बजेटको ७.२५ प्रतिशत हुन आउँछ। सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि  ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट बिनियोजन गरिएको छ, जुन कुल बजेटको १९.९६ प्रतिशत हुन आउँछ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८०  को लागि २२ अर्ब  ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको बताइन्। नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजार, आन्तरिक आयतर्फ ११ अर्ब ९५ करोड बैंक मौज्दातसमेत गरी कूल  १६ अर्ब ८० करोड १ लाख, राजस्व बाँडफाँडतर्फ ३ अर्ब ४१ करोड ३७ लाख ७३ हजार र समानीकरण अनुदानतर्फ ८४ करोड १९ लाख ७० हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ।

सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता बापत १ अर्ब ६५ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बिशेष महत्व मानिने योजनाहरुमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्बर्धन गर्ने मुख्य रहेको छ।

वडा कार्यालयहरुलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पुरा गर्ने  कार्यालयको रुपमा विकास गर्ने उद्धेश्यकासाथ चालु आर्थिक वर्षको भन्दा झन्डै दोब्बर बजेट बिनियोजन गरिएको छ। काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालय रहेको वडा नम्बर ११ स्थित हरिभवनको प्रबलिकरण, विद्युतिय सार्वजनिक सवारी यातायात, सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पोखरी निर्माणलाई प्रमुखताका साथ समेटिएको छ।

आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, फोहरमैला ब्यबस्थापन, सम्पदा संरक्षण तथा सम्बर्धन र पूर्वाधार विकासलाई विशेष महत्व दिई बजेट बिनियोजन गरिएको छ।

सम्बन्धित् समाचार