गृहपृष्ठ Featured टेक्सासमा ४६ आप्रवासीको मृत्यु : बाइडेन दोषी रहेको आरोप

टेक्सासमा ४६ आप्रवासीको मृत्यु : बाइडेन दोषी रहेको आरोप

अमेरिकाको टेक्सास स्थित सान एन्टोनियोमा ४६ जना आप्रवासीको मृत्यु भएपछि सरकारले घटनाको अनुसन्धान अघि बढाएको छ। १८ पाङ्ग्रे ट्रकमा रहेका १६ जना गम्भीर बिरामी रहेको भेटिएकाले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।

ट्रकमा १०० जनाभन्दा बढी मानिसहरु कोचाकोच गरी ल्याएको र गर्मीका कारण उनीहरुको मृत्यु भएको बताइएको छ। सोमबार सान एन्टोनियोको तापक्रम ३९.४ डिग्री सेल्सियस मापन गरिएको थियो। एन्टोनियो सहरमा गर्मीको समयमा तापक्रम निकै बढ्ने गर्छ।

सोमवार साँझ घटनास्थलबाट सहायताका निम्ति आग्रह भएपछि सुरक्षा अधिकारी परिचालन गरिएको सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमासले बताए। उनले मृतकहरू मेक्सिकोका नागरिक भएनभएको यकिन नभएको जनाएका छन्। मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्राडले मानिसहरुको पहिचानका लागि दूतावासका अधिकारी घटनास्थल पुगेको बताएका छन्।

सान एन्टोनियोका नगर प्रमुख रोन निरेनवर्गले घटनालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन्।

गम्भीररूपमा बिरामी भएकामा १२ जना वयस्क र चारजना बालबालिका छन्। सुरक्षा अधिकारीहरूका अनुसार उद्धार गर्दा उनीहरूको शरीर ज्यादै तातो थियो। ट्रकको ढोका अलिकति मात्र खुला रहेको र भित्र जाँदा शवमात्र देखिएको पनि उनीहरूले जनाएका छन्।

दोष बाइडेनमाथि

टेक्सासका गभर्नर ग्रेग एबोटले राष्ट्रपति जो बाइडेनको घातक खुला सीमा नीतिका कारण उक्त घटना भएको ट्वीटरमा टिप्पणी गरेका छन्। सान एन्टोनियो अमेरिका मेक्सिको बोर्डरबाट २५० किमीको दुरीमा रहेको छ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरी तीन जनालाई नियन्त्रणमा लिएको छ। पछिल्ला दिनहरुमा मेक्सिकोको दक्षिणी बोर्डरबाट घुसपैठ गर्दा पक्राउ पर्ने आप्रवासीको संख्या पनि उल्लेख्य रुपमा बढेको बताइएको छ।

सम्बन्धित् समाचार