गृहपृष्ठ Featured भीम अस्पतालका १७४ स्वास्थ्यकर्मीले पाएनन् कोरोना जोखिम भत्ता, आन्दोलनको चेतावनी

भीम अस्पतालका १७४ स्वास्थ्यकर्मीले पाएनन् कोरोना जोखिम भत्ता, आन्दोलनको चेतावनी

बुटवल : रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । संघर्ष समिति गठन गरी उनीहरूले जोखिम भत्ता नपाए आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले सरकारले गरेको निर्णयानुसार श्रमको मूल्य पाउनुपर्ने स्वास्थ्यकर्मीको माग रहेको बताए । “सरकारले कोरोना जोखिम भत्ता दिने नभनेको भए हामीले माग्ने थिएनौँ,” उनले भने, “सरकारले गरेको निर्णय र आफूहरूले पाउनुपर्ने अधिकार मागेका हौँ ।”

०७८ साल वैशाखदेखि कोरोना महामारीको दोस्रो लहरका समयमा स्वास्थ्यकर्मीले जोखिममा सेवा गरेको बारे सबैलाई अवगत भएको उनको भनाइ छ । उनले प्रदेश सरकारले ५० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत गरी १०० प्रतिशत भत्ता दिने भनिए पनि हालसम्म एक रुपैयाँ नपाएको बताए ।

स्वास्थ्यकर्मी उपाध्यायले भने, “केही नपाएपछि माग्दै नमाग्ने भन्ने कुरा हुँदैन । देशका १७ हजार स्वास्थ्यकर्मी कोरोना जोखिम भत्ता पाउनबाट वञ्चित छन् ।”

यही असार १६ गतेसम्म संघर्ष समितिले आन्दोलनका कुनै कार्यक्रम नगर्ने र सरकारको निर्णय पर्खने उनले बताए । माग पूरा नभए सोही दिन आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने उनको भनाइ छ ।

उपाध्यायका अनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको एक करोड ४९ लाख ८० हजार रुपैयाँ रकम पाउन बाँकी छ ।

सम्बन्धित् समाचार