दाङ : बाँकेस्थित भेरी अस्पतालमा दुई जना चिकित्सकसहित सात जनाले अग्रिम हाजिरी गरेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार अस्पतालमा छड्के जाँच गर्दा दुई जना चिकित्सक सहित चार जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीले अस्पतालमा अग्रीम हाजिरी गरेको पाइएको हो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अस्पतालका डा. सुरेशकुमार नाग, डाक्टर निर्मल शाक्यसहित सात जनाले अग्रिम हाजिरी गरेको पाइएको बताए । डा. शाक्यको हाजिरीको माथि टेप टाँसिएको छ।
त्यस्तै डा. नागले २० गते अस्पतालमा पुगेर असार २९ गतेसम्मको हाजिरी गरेर गएको भेटिएको घटना यसअघि नै बाहिरी सकेको छ । उनले अग्रिम हाजिरी गरेको पाइएपछि अस्पताल समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखिपठाएको छ। त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ।








