गृहपृष्ठ Featured रोइरहेछ श्रीलंका !

रोइरहेछ श्रीलंका !

एजेन्सी । देश गम्भीर आर्थिक संकटमा छ । बिरामी परे बजारमा औषधि छैन । बजारमा खाद्यान्नको अभाव छ । खाना पकाउन ग्याँस छैन । यात्रा गर्न डिजेल तथा पेट्रोलको अभावमा गाडी चलेका छैनन् ।

मूल्यवृद्धिले आकाश छोएर ुरकेटु गतिमा दौडिरहेको छ । खाद्यान्न अभाव भएपछि बालबालिका कूपोषित हुन थालेका छन् । वृद्धहरू भोका हुन थालेका छन् । जति शरीरलाई आवश्यक पर्छ, अब घटाएर खानुपर्ने छ ।

सबै सामान आयात गर्नुपर्छ । किन्नलाई सरकारसँग आवश्यक पैसा (विदेशी मुद्रा) छैन ।

राजनीतिक उथलपुलको अवस्थामा छ । सांसदहरू नै प्रदर्शनमा उत्रिएका छन् । गत मार्चदेखि सुरु भएको सरकारविरोधी प्रदर्शनले हिंसात्मक रूप लिन थालेको छ । आक्रोशित जनताले नेताहरूलाई खोजी खोजी निशाना बनाइरहेका छन् ।

शनिबार सरकारको कर्फ्यूकाबीच आक्रोशित जनताको भिड कोलोम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षेको निवाससम्म पुग्यो ।प्रदर्शनकारीहरूलाई रोक्न प्रहरीले सयौँ राउन्ड हवाइ फायर गर्‍यो, अश्रुग्याँस हान्यो । तर, भिड रोकिएन । उनीहरूले राजापाक्षेलाई भगाए र उनको निवास कब्जामा लिए ।

उनको निवासभित्रैबाट उनीविरुद्ध चर्का नारा लगाए ।  राष्ट्रिय झण्डा बोकेका उनीहरूले नाराबाट भने– ‘गोता घर जाऊ !’

संकट 

श्रीलंकाले अहिले इतिहासकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको अभावमा आयात गर्न नसक्दा देशमा अहिले इन्धन, खाद्यान्न र औषधिको चरम अभाव छ । जसले गर्दा मूल्यवृद्धि अकाशिएको छ । नागरिकको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

गएको मेमा इतिहासमा पहिलोपटक श्रीलंका विदेशी ऋण तिर्न असफल भएको थियो ।

सरकारले कोरोना महामारीका कारण अहिलेको अवस्था आएको दाबी गर्दे आएको छ । विदेशी मुद्राको प्रमुख स्रोतमध्येको एक पर्यटन क्षेत्र सन् २०१९ देखिनै ठप्प बन्दा आर्थिक संकट देखिएको सरकारी दाबी छ ।

तर, विज्ञहरूले भने अर्थतन्त्रको खराब व्यवस्थापनका कारण समस्या देखिएको बताएका छन् ।

केहीदिन अघि श्रीलंकाका प्रधामन्त्री रनिल विक्रमासिंघेले ४० प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने चेतावनी दिएका थिए । साथै उनले श्रीलंकन एयरलाइन्सलाई निजीकरण गर्नुपर्ने अवस्था आउनसक्ने बताएका थिए । उनले रुस र कतारलाई न्यून मूल्यमा इन्धन उपलब्ध गराउन पनि आग्रह गरेका थिए ।

प्रदर्शनकारीको माग

उनीहरूले राजापाक्षले सरकारबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । राजापाक्षको परिवार र उनीहरूले नेतृत्वले गरेको सरकारका कारण अहिलेको अवस्था आएको नागरिकको बुझाइ छ । विश्लेषकहरूले पनि सरकारमाथि प्रश्न उठाइरहेका छन् ।

प्रधानमन्त्री राजीनामा दिन तयार

प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू राजीनामा दिन तयार रहेको बताएका छन् । शनिबार बेलुकी आकस्मिक बैठक बोलाएर उनले जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएका छन् । उनले आफू नेताहरूले दिने सबैभन्दा उपयुक्क सल्लाह मान्न तयार रहेको पनि बताएका छन् । साथै उनल संयुक्त सरकार गठन गर्न सकिने बताएका छन् ।

 राष्ट्रपतिले जुलाई १३ मा राजीनामा दिने

राष्ट्रपति गोताबाया राजापाक्ष जुलाई १३ मा राजीनामा दिन सहमत भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गएराति राष्ट्रपति राजापाक्षले राजीनामा दिने बताएको सभामुख महिन्दा यापा अभयवर्धनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीको सहयोगमा ।

सम्बन्धित् समाचार