डा.शेखर कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेसको संस्थापन इतरसमूहले सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सभापति देउवामाथि दबाब बढाउने रणनीति लिएको छ। आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नेलगायतका एजेन्डा तय गर्दै यस्तो निर्णय गरेको हो।
पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रीय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए।
कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ।
स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई बृहत् बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए। ‘केन्द्रीय समिति बैठकमा समीक्षा, चाहे स्थानीय तह निर्वाचनको होस् वा सरकारको समीक्षा होस् । यसले ल्याएको बजेटले पारेको असरको बारेमा होस् । पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरूमा पनि केन्द्रीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी मजदुत बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने ? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रूपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ।’
बैठकमा कोइराला पक्षले पार्टीको भ्रातृ संस्थाहरू सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय गरेको छ । पार्टीको भ्रातृ संस्था र विभागहरूलाई विधिवत रूपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरूबीच छलफल भएको नेता भण्डारीले जानकारी दिए।
बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रूपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ । पार्टीको विधानअनुसार विभागहरूसमेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रूपमै आलोचना गर्दै आएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।








