गृहपृष्ठ Featured कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको ब्रिफिङ– ‘एक्लै लडेको भए राम्रो हुन्थ्यो’

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको ब्रिफिङ– ‘एक्लै लडेको भए राम्रो हुन्थ्यो’

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका अध्यक्ष अम्बर पुनले गएको स्थानीय तह निर्वाचनमा एक्लै लडेको भए उचित हुने तर्क गरेका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेकपा (माओवादी केन्द्र) कमजोर भएको ठाउँमा मात्र गठबन्धन गरिएको भन्दै असन्तुष्टि पनि जनाए ।

“चुनावअगाडि मैले कांग्रेस भारतीय कांग्रेस बन्छ भनेको थिएँ । गठबन्धन गर्दा पनि धेरै सिट जित्न सकिएन । प्रदेशमा माओवादी बलियो छ,” उनले बैठकमा भने, “गठबन्धनको नाम लिन चाहेनन्, कमजोर ठाउँमा मात्र भयो । गठबन्धनभन्दा प्रतिस्पर्धा गरेको, एक्लै लडेको भए राम्रो हुन्थ्यो ।”

उनले पार्टी विधानसम्मत नचलेको, प्रदेश र स्थानीय तहलाई दिइएको अधिकार केन्द्रबाट खोसिएको बताए ।

“हामीले टिकट बाँड्ने अधिकार पाएनौँ । विधानसम्मत चल्ने, हाम्रो अधिकार कटौती गर्न हुँदैन भनेर हामीले माग गरेका छौँ,” उनले सुनाए ।

उनले प्रदेशलाई अधिकार दिन माग गरे । “प्रदेश चाहिएको छैन भनेर खारेज गर्नुहोस्, नभए अधिकार दिनुहोस् भनेको छु, कुरा राखेका छौँ । हामीले पाउने लेवी पाएनौँ,” उनी भन्छन्, “कार्यसमिति चलाउन हामीलाई गाह्रो भएको छ । ५ प्रतिशत केन्द्रले राखेर अरू लेवी तल पढाउन माग गरेको छु ।”

सम्बन्धित् समाचार