पोखरा : पोखराको नदिपुरमा रहेको गण्डकी प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै नेकपा ९एमाले० को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र युवा संघले प्रदर्शन गरेका छन्।
आज बिहान ११ बजे संसद बैठक डाँकिएको थियो। जसमा मुख्यमन्त्री पोखरेलले विशेष समयमा बजेटबारे उठेका विषयमा जवाफ दिने कार्यक्रम छ। यता, सदन सुरु हुनु अगाडि देखि नै युवा संघले प्रर्दशन गरेर मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरिरहेका छन्।
आर्थिक वर्ष २०७९-८० का बजेट मार्फत आफ्नो पिताका नाममा रहेको ट्रस्टमा बजेट छुट्टाएपछि गठबन्धन सरकार विवादित बनेको थियो। चौतर्फी आलोचनापछि उनले ट्रस्टको नाममा विनियोजन भएको रकम अन्य क्षेत्रमा प्रयोग गर्न निर्देशन दिइसकेका छन्।








