पाकिस्तान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) कर्मचारी तहमा ऋण कार्यक्रम पुनर्स्थापना गर्ने सहमतिमा पुगेका छन् । ऋण कार्यक्रम अन्तरगत पाकिस्तानले छिट्टै आईएमएफबाट १.२ अर्ब डलरको ऋण लिन सक्नेछ ।
सम्झौता आईएमएफको बोर्डले स्वीकृत गरेपछि पाकिस्तानले अतिरिक्त ऋण सेवा अन्तरगत करिब ७ अर्ब डलर जति ऋण पाउनेछ ।
आईएमफले यो सेवालाई सन् २०२३ जुनसम्म लम्याउने विषयमा पनि पुनर्विचार गर्नेछ ।
सन् २०१९ मा पाकिस्तानले आईएमएफसँग ६ अर्ब डलरको ऋण लिन सम्झौता गरेको थियो । उक्त सम्झौता अन्तरगत तीन वर्षमा पाकिस्तानले ६ अर्ब डलर प्राप्त गर्ने थियो । तर आधा ऋण दिएपछि आईएमएफले प्रतिबन्ध लगाएको थियो ।
इमरान खानको सरकारलाई आईएमएफले थप ऋण स्वीकृत गर्न अस्वीकार गरेको थियो, त्यसपछि पाकिस्तानमा शाहबाज सरिफको नयाँ सरकारले वार्ता सुरु गरेको थियो । आईएमएफले ऋण सुचारु गर्ने भएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आईएमएफको ऋण कार्यक्रमलाई पुनरुत्थान गर्ने प्रयासका लागि मन्त्रीहरू मिफ्ताह इस्माइल र बिलावल भुट्टोको नेतृत्वमा रहेको अर्थ र परराष्ट्र मन्त्रालयका टोलीलाई बधाई दिएका छन् ।
उनले ती मन्त्रालयको उत्कृष्ट सामूहिक कार्य गरेको र नयाँ सम्झौताले पाकिस्तानलाई आर्थिक संकटबाट बाहिर निकाल्न सहयोग गर्ने बताए ।








