गृहपृष्ठ Featured नेपालमा नयाँ प्रजातिको छेपारो फेला

नेपालमा नयाँ प्रजातिको छेपारो फेला

प्रकाशित मिति:

नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो ।

यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ ।

संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा. रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । ‘यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत ६ बाट सात पुगेको छ,’ नेपाल कन्जरभेसन एन्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भने ।

उनले हाल फेडेरेसन विश्वविद्यालय अस्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै छन् । यसबारे खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उनले जानकारी  दिए ।

विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ । त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो । यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो ।

जैविक विविधता अनुसन्धानका क्रममा सुरुमा मोरङको मिक्लाजुङ क्षेत्रको जंगलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिए । नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौँ भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उनले बताए ।

सम्बन्धित् समाचार