वैखरी अनलाईन : बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका खिमानन्द भुसालले पदभार ग्रहण गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत भुसाल नेपाल सरकारका उप–सचिव हुन् ।

यसअघि भुसाल गुल्मीको मुसिकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । नेपाल सरकारका विभिन्न मन्त्रालय र विभागहरुमा लामो समय काम गरेका भुसालको प्रमुख प्रशासकीय अधिकृतको रुपमा भने बाणगंगासहित यो चौथो स्थानीय तह हो । जुम्ला, अर्घाखाँची र गुल्मी हुदैं उनी बाणगंगा नगरपालिकामा आएका हुन् ।
पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधिसहित सरोकारवाला सबैसंग सहकार्य गर्दै बाणगंगालाई सुशासनयुक्त, पारदर्शी र सेवाग्राहीमैत्री नगरपालिकाको रुपमा पहिचान दिलाउने दाबी गरे । उनले नगरप्रमुखको निर्देशन बाहिर गएर आफुले कुनै पनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए ।
यस क्षेत्रको बारेमा थप जानकारी लिनको लागी विहिबार कर्मचारीको बैठक बोलाएको जानकारी दिदै उनले त्यस पछि मात्र विकासका गतिविधिलाई अघि बढाउने बताए । नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रीता कुमारी चौधरी, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले भुसाललाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।








