गृहपृष्ठ Featured बाँकेको नरैनापुर सुक्खा क्षेत्र घोषणा

बाँकेको नरैनापुर सुक्खा क्षेत्र घोषणा

प्रकाशित मिति:

बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको छ। गाउँपालिकाको बैठकले पर्याप्त सिँचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुक्खा क्षेत्र घोषणा गर्नुपरेको अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

उनले सो क्षेत्रमा डिप बोरिङको वैकल्पिक उपाय अपनाउन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको उल्लेख गर्दै राहतको प्याकेजसमेत ल्याउन माग गरेका छन्।

“यस क्षेत्र त्यसै पनि गरिबीको चपेटामा छ, आकासेपानीको भर पर्दा यहाँको अवस्था दयनीय भएको छ”, अध्यक्ष शाहले भने, “खडेरीले गर्दा कृषिमा आश्रित बहुसंख्यकको जीवन कष्टकर बन्दै गएकाले प्रदेश र संघीय सरकारको ध्यान पुग्न आवश्यक छ।” नरैनापुरमा पानीको हाहाकार भएकाले गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । गाउँपालिकाको उक्त बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा सिँचाइका लागि डिप बोरिङलयायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गराउन प्राथमिकता दिइएको वडा नम्बर ४ का अध्यक्ष मनोज शर्माले बताए ।

जिल्लाको सो गाउँपालिकालाई दुर्गम गाउँपालिकाका रूपमा चिनिँदै आएको छ । -रासस

सम्बन्धित् समाचार