गृहपृष्ठ Featured बंगलादेश ट्वान्टी–२० टिम : कप्तानमा साकिबको पुनरागमन

बंगलादेश ट्वान्टी–२० टिम : कप्तानमा साकिबको पुनरागमन

काठमाडौं । बंगलादेशले शनिबार एसिया कप र ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि १७ सदस्यीय टोलीको घोषणा गर्दा साकिब अल हसनलाई कप्तानीको जिम्मेवारी दिइएको छ । योसँगै साकिबले बंगलादेशको कप्तानमा पुनरागमन गरेका छन् ।

अब साकिब कम्तीमा यो वर्षभर बंगलादेशको ट्वान्टी–२० टिममा कप्तान हुने पक्का छ । किनकि, ट्वान्टी–२० विश्वकप यो वर्षको अन्त्यमा अष्ट्रेलियामा हुँदै छ । ट्वान्टी–२० स्वरूपमै हुने एसिया कप भने युनाइटेड अरब इमिरेट्स (यूएई)मा यही अगस्ट २७ बाट सुरु हुँदै छ ।

महमुद उल्लाहको कप्तानीमा बंगलादेशको राम्रो नतिजा नआएपछि जिम्बाब्वे भ्रमणका क्रममा नुरुल हसनलाई ट्वान्टी–२० टिम कप्तानको जिम्मेवारी दिइएको थियो । त्यो भ्रमणमा पनि नतिजा राम्रो नआएपछि बंगलादेश क्रिकेट बोर्डले साकिबलाई कप्तानको जिम्मेवारी दिएको छ ।

साकिबलाई यसअघि नै टेस्ट टिमको पनि कप्तान बनाइएको थियो । मोमिनुल हकले कप्तानबाट राजीनामा दिएपछि गएको जुनमा साकिबलाई कप्तानको जिम्मेवारी दिइएको हो ।

बंगलादेशले एसिया कपपछि न्युजिल्यान्ड र पाकिस्तनसँग त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । त्यसपछि विश्वकप खेल्नेछ ।

सबिर रहमान सन् २०१९ पछि ट्वान्टी–२० टिममा फर्किएका छन् । मुश्फिकर रहिमले पनि टिममा पुनरागमन गरेका छन् । ह्यामस्ट्रिङ चोटका कारण लिटोन दास टिममा छैनन् ।

यस्तै, शोरिफुल इस्लाम, मुनिम शहरिर र नाजमुल होसैन सान्तो पनि टिमबाट बाहिरिएका छन् । मोहम्मद सैफुद्धिन चोटमुक्त भएर फर्किएका छन् ।

तीव्र गतिका बलर इबाडोट होसैनले पनि टिममा स्थान बनाएका छन् । औँलामा चोट भए पनि नुरुल हसन सोहनलाई टिममा राखिएको छ ।

बंगलादेश टिम
साकिब अल हसन (कप्तान), अनमुल हक, मुश्फिकर रहिम, अफिफ होसैन, मोसाद्धक होसैन, महमुल उल्लाह, मेहेदी हसन, मोहम्मद सैफुद्धिन, हसन महमुद, मुस्तफिजुर रहमान, नासुम अहमद, सबिर रहमान, मेहिदी हसन मिराज, इबाडोट होसैन, परभेज होसैन इमोन, नुरुल हसन सोहन र तस्किन अहमद ।

सम्बन्धित् समाचार