गृहपृष्ठ Featured बुटवल उपमहानगरले कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती गर्ने

बुटवल उपमहानगरले कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती गर्ने

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ ।

बुटवल उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको उपमहानगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

बैठकले बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषिउपज थोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरिएको उपमहानगर प्रमुख पाण्डेयले बताए ।

बैठकले वार्षिक कार्यसञ्चालन तालिका पनि स्वीकृत गरेको छ । जसअनुसार मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरु सम्झौता गर्ने तालिका स्वीकृत भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए ।

स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्ने उनले बताए । क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरु सुपरीवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिए ।

नगर क्षेत्रभित्रका अव्यवस्थित बसोवासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्सांकन प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संशोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसाग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिए ।

सम्बन्धित् समाचार