१३ भदौ,बुटवल ।
गत २ जेठदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान सुरु गर्यो । हवाई उडानमार्फत लुम्बिनी घुम्न आउने पर्यटकलाई घुमाउन एसियाली विकास बैंक (एडीबी) ले अनुदानमा बिजुली गाडी पनि उपलब्ध गराएको छ ।
तर २० महिना अघि अनुदानमा उपलब्ध बिजुली गाडीहरु भने अझै चल्न सकेका छैनन् ।
सन् २०१८ मा विद्युतीय गाडी, चार्जिङ स्टेशन र सोलार समेत उपलब्ध गराउने सम्झौता अनुरूप २० महिनाअघि १९ सिटे पाँच वटा विद्युतीय बस र पाँच सिटे १४ वटा विद्युतीय भ्यान लुम्बिनी आइपुगेका थिए । कार्यविधि नबन्दा लुम्बिनी विकास कोषलाई हस्तान्तरण हुन ढिलाई हुँदा सवारी साधनहरु चल्न नपाएर थन्किएका हुन् ।
एसियाली विकास बैंकको करिब ३५ करोड अनुदानमा क्लिन इनर्जी प्रोजेक्टमार्फत् आयात भएका विद्युतीय बस र भ्यानका लागि भन्सार शुल्क मात्रै ८ करोड तिरेको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए ।
विद्युतीय गाडीसँगै गाडी चार्जको लागि चार्जिङ स्टेशन र सोलार प्लान्ट पनि दुई वर्ष अघि नै जडान गरिएको थियो । गाडीहरू चार्जिङका लागि सोलार प्लान्टबाट उत्पादित १ सय ५० किलोवाट विद्युत् चार्जिङ स्टेशनमा पठाइसकिएको छ ।
कोरोना महामारीका बीचमै ल्याइएका कतिपय गाडीहरू लामो समय सञ्चालनमा नआउँदा बिग्रने जोखिम बढेको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले सञ्चालन कार्यविधि बनाउन ढिला हुँदा बस र भ्यान चलाउन नसकिएको बताए ।








