बुटवल ।
नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन वस्तुहरूको बिक्री बितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका विभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ ।
बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देविनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न ११ मासु पसलमा गरिएको अनुगमनमा वधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको उपमहानगरले जनाएको छ ।
बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा गरिएको अनुगमनमा तीनवटामा मासु अखाद्य मासु भेटिएको छ भने अधिकांश वधशालामा सरसफाइमा ध्यान नदिएको पाइएको हो ।
अखाद्य मासु भेटिएकालाई उपमहानगरमा बोलाइएको छ भने अन्यलाई मापदण्डअनुसार काम गर्न निर्देशन दिइएको छ ।
बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देविनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु जफत गरिएको छ । यी मासु पसलबाट २२ किलोभन्दा बढी अखाद्य मासु नष्ट गरिएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत ठगिश्वर शर्माले जानकारी दिए ।
देविनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडकमै वधशाला बनाएको पाइएको छ भने तीनकुनेमा रहेको निमेस मासु पसलको वधशाला निकै फोहोर पाइएको हो । यस्तै, इँटाभट्टीको माइला मासु पसल, ज्योति माइला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजन फ्रेस हाउसमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बोल्दै उपप्रमुख अर्यालले चाडपर्वको समयमा मासुको प्रयोग बढी हुने भएकाले मासु पसलमा अनुगमन गरी स्वच्छ र स्वस्थ्य मासुको उपलब्ध गराउने प्रयास गरेको बताइन् । भनिन्, “चाडपर्वको समयमा जुन पदार्थको बढी खपत हुन्छ र कालोबजारीको डर हुन्छ, त्यही बस्तु तथा पसलमा अनुगमन गरेका छौँ । यसले गर्दा बुटवलका बासिन्दाले स्वस्थ्य र कालोबजारीरहित बस्तु उपभोग गर्न पाउनुहुनेछ ।”
बुटवल उपमहानगरका पशु चिकित्सक झविन्द्र बञ्जाडेले मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भए पनि त्यसअनुसार नपाइएको थप प्रक्रियाको लागि बोलाइएको बताए । उनले मासुलाई उचित तापक्रम मिलाएर राख्न सकिने भए पनि त्यसको ज्ञानको अभावमा फ्रिजमा राख्दा अन्य रोगहरूसमेत लाग्ने डर हुने बताए ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवल उपमहानगर अध्यक्ष समुन्द्र जीसीले चाडपर्वमा अखाद्य बस्तुको बेचबिखन हुनसक्ने भएकोले अनुगमन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तर र गोप्य तरिकाले गर्नुपर्ने बताए ।








