गृहपृष्ठ Featured बुटवल–तानसेन सडकखण्डमा सडक भासिने समस्या जटिल बन्दै

बुटवल–तानसेन सडकखण्डमा सडक भासिने समस्या जटिल बन्दै

तानसेन ।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा सडक भासिने समस्या जटिल बन्दै गएको छ। हरेक वर्ष सडक भासिदा यो राजमार्गको यात्रा असुरक्षित बन्दै गएको हो।

तिनाउ गाउँपालिकामा चार दिनअघि भासिएको सडकको भित्तामा डाइभर्सन गरेर एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको विभिन्न स्थानमा सडक भासिने समस्या बढ्दो छ।

पाल्पा बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका–५ हिउँदै खोलामा ६० मिटर सडक पूर्ण रूपमा भासिदा बुटबल–तानसेनको यात्रा जोखिमपुर्ण बनेको छ। सडकको तल्लो भाग बग्ने समस्या छ।

यसले अस्थायी रूपमा निर्माण भएको सडक पानी परेमा पुनः बग्ने खतरा रहेको छ। पाल्पा–बुटवल सडकखण्डको चौबीस माइल, हिउँदे खोला, झुम्सा, र दोभान क्षेत्रमा  विगत वर्षदेखि सडक भासिदै आएको छ।  चुरेको कमजोर भू–भाग र सडकमा क्षमताभन्दा बढी भारवहनयुक्त सवारीसाधन सञ्चालन हुँदा समय–समयमा पाल्पा–बुटवल सडकखण्ड भासिदै आएको प्राविधिकहरू बताउँछन्। हिउँदेखोलामा भासिएको क्षेत्रको सडक पाँच सय मिटर तलदेखि नै भासिदै गएको छ।

सडक भासिदा मानवीय क्षति नभए पनि यात्रुहरूले दुःख पाएका छन्। सिद्धार्थ राजमार्ग दक्षिणदेखि उत्तर जोड्ने प्रमुख राजमार्ग लुम्बिनी प्रदेशको अस्थामी मुकामदेखि गण्डकी प्रदेशको राजधानी जोड्ने सडक रहेकोले सवारीसाधनको चाप उच्च रहेको छ।

सिद्धार्थ  राजमार्गबाट पाल्पा, गुल्मी, स्याङजा, कास्की, पर्वत बाग्लुङ, म्याग्दी, मुस्ताङलगायत जिल्लासम्म आवतजावत तथा खाद्यान्न ढुवानी हुँदै आएको छ। भासिएको सडक क्षेत्रमा पानीको मूल रहेको, मूलको सही व्यवस्थापन गरेर मात्र सडक निर्माण दिगो हुने सडक व्यवस्थापनमा खटिएका तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम  श्रेष्ठले  बताए।

सिद्धार्थ राजमार्गको बुटवल चिडियाखोलादेखि वृन्दावन बाँसटारीसम्म निकै जोखिम सडक क्षेत्र भएकोले जुनसुकै समयमा पनि दुर्घटनाको जोखिम रहेको सवारी चालकहरूको भनाइ छ। चालक केशरबहादुर थापाले आफूहरूले जोखिम मौलेर सवारी चलाउँदै आएको बताए।

वर्षाको समयमा सडक भासिने, पहिरो खस्ने समस्यामा रहेको पाल्पा–बुटवल सडकमा हिउँदको  सिद्धबाबा क्षेत्रमा धुले पहिरो र ढुंगा खस्ने कारण यात्रा जोखिमपूर्ण रहेको हो। करिब १ महिनादेखि सामान्य रूपमा भासिदै गएको सडक केही दिनअघि अवरुद्ध भई सामान्य मर्मतपछि सञ्चालनमा आएको थियो। भासिएको सडकलाई पुनः सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए।

गण्डकी र लुम्बिनी प्रदेशको राजधानी जोड्दै र नेपालको भारतीय प्रमुख व्यापारिक नाका सुनौली सडकलाई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड सबैभन्दा जोखिम रहेको छ ।

१२ महिना चिन्तित बनाउने सडकलाई सुरक्षित सडक बनाउन सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु भएको छ। मुख्य जोखिम क्षेत्र सिद्धबाबा पहाडमा सुरुङ निर्माणका लागि निर्माण कम्पनीसमेत छनौट भइसकेको छ। निर्माणको काम भने अझै सुरु भएको छैन।

सम्बन्धित् समाचार