भाद्र २१, दाङ ।
लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणले गति नलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको छ । निर्माणका क्रममा पुरानो सडक भत्काउँदा सवारी दुर्घटना भई काम थालेयता २२ जनाले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।
सडक निर्माणको म्याद चारपटक थप्दा पनि भौतिक प्रगति ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३ प्रतिशत मात्रै भएको छ ।
अहिले पनि काम सन्तोषजनक नभएको र यही अवस्थामा यो योजना सम्पन्न हुने सम्भावना नरहेको भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीका प्रमुख अर्जुनकुमार बमले बताए ।
‘जति म्याद थप्दा पनि काममा प्रगति हुन सकेको छैन । बीचमा ठेक्का तोड्ने प्रयास पनि भयो तर यसका थप जटिलताले फेरि म्याद थप्दै गइयो,’ उनले भने, ‘सुरुका ३० महिना त्यत्तिकै खेर गएका छन् । यहाँ काम गर्ने ठाउँमा कुनै अवरोध या समस्या केही पनि छैन ।
ठेकेदारको लापरबाहीले नै काम हुन सकेको छैन ।’ नेपाल सरकार र भारतको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको ऋण सम्झौतामा सडक आयोजना सुरु भएको हो । १ करोड २१ लाख ८२ हजार अमेरिकी डलर बजेट रहेको उक्त सडक निर्माणको ठेक्का भारतको तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको छ । २०७५ माघ १४ मा सम्झौता भएको उक्त योजना २०७७ वैशाख २९ मा सम्पन्न गर्नुपर्ने सर्त थियो ।
समयमा सम्पन्न नभएपछि २०७८ जेठ ६ गतेसम्म म्याद थप गरियो । त्यसपछि २०७८ साउन २७ मा सक्ने गरी म्याद थप भयो । त्यसपछि फेरि २०७८ पुस १९ गतेसम्म म्याद थप भयो । फेरि २०७९ वैशाख २९ सम्म म्याद थपियो । अब फेरि २०८० असार ३१ गतेसम्म म्याद थप्ने प्रक्रिया थालिएको छ ।








