काठमाडौं । फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा घाइते भएको खेलमा रियाल मड्रिडले मंगलबार राति च्याम्पियन्स लिगमा सेल्टिकलाई ३–० ले पराजित गरेको छ ।
घुँडामा चोट लागेपछि बेन्जेमाले ३० औँ मिनेटमा मैदान छाडेकी थिइन् । ३४ वर्षे बेन्जेमाको स्थानमा इडेन हाजार्ड छिरेका थिए । हाजार्डले ७७ औँ मिनेटमा गोल गरेका थिए ।
बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियालले गत सिजन कीर्तिमानी १४ औँ च्याम्पियन्स लिग उपाधि जितेको थियो । बेन्जेमा एक्लैले १५ गोल गरेका थिए ।
रियालले गत सिजन स्पेनिस ला लिगाको उपाधि पनि जितेको थियो । रियालले ५६ औँ मिनेटमा भिनिसियस जुनियरको गोलबाट अग्रता लिएको थियो । ६० औँ मिनेटमा लुका मोड्रिचले अग्रता दोब्बर बनाएका थिए ।
जितसँगै रियाल समूह ‘एफ’को दोस्रो स्थानमा छ । रियालसँगै समान ३ अंक जोडेको शाख्तर डोनेस्क शीर्ष स्थानमा छ । युक्रेनको क्लब शाख्तरले गएराति जर्मन बुन्डेसलिगाको आरबी लाइपजिगलाई ४–१ ले पराजित गरेको थियो ।