नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाक्रीले जनताले ठुला सपना बाँड्ने दललाई भन्दा पनि यथार्थपरक एजेण्डा बोकेर जानेलाई पत्याउने बताएकी छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा पूर्वमन्त्री झाक्रीले ठुला सपना देखाउनेलाई भन्दा जनतासँग जोडिएका वास्तविक एजेण्डा लिएर जानेलाई जनताले मत दिने बताइन् ।
उनले एमालेले ल्याएका पानी जहाज, रेलजस्ता हावादारी गफमा जनता नअल्मलिने बताउँदै स्थानीय माग र आवश्यताको आधारमा स्पष्ट एजेण्डा ल्याउनेलाई जनताले मत दिने उनको भनाइ छ ।
मुलुकको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने र त्यसका लागि गठबन्धन आवश्यक रहेको उनले बताइन् ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अहिले गठबन्धनबाट मुलुकमा समृद्धि आउने दावी गर्दै जनताले दिएको दुई तिहाई मतको कदर गर्न नसकेर एमाले कर्तव्यच्यूत भएको आरोप लगाए । उनले आगामी निर्वाचनमा एमालेलाई जनताले उसको हैसियत देखाइदिने बताए ।
एमालेले नागरिकता विधेयकलाई रोक्न लगाएर चुनावी एजेण्डा बनाउन खोजेको उल्लेख गर्दै चौधरीले हिजो ओली सरकारले ल्याएको विधेयकलाई जस्ताको त्यस्तै लैजाँदा पनि अनावश्यक भ्रम सिर्जना गरिएको आरोप लगाए ।
नेकपा माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीले संघीयता, संविधानलाई संस्थागत गर्न ५ दलीय गठबन्धन निर्माण भएको भन्दै आगामी निर्वाचनमा एक भएर प्रतिस्पर्धी पार्टीसँग भिड्ने बताए ।
नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएको भन्दै निर्वाचन आयोगले निगरानी गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा एमालेको अवस्था विगतभन्दा सुधार हुने दाबी गरे ।