गृहपृष्ठ Featured नेपाली टोली राहत सामग्री लिएर पाकिस्तान उड्यो

नेपाली टोली राहत सामग्री लिएर पाकिस्तान उड्यो

२८ भदौ, काठमाडौँ।

नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ ।

पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडीए तीन सय ३० जहाजमार्फत पाकिस्तानको कराँची शहर पठाइएको हो ।

विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरुप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधि तथा राहत सामग्री पठाइएको बताइन् ।

यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ । ‘हाल पाकिस्तानलाई प्रदान गरिएको राहत सामग्री नेपाल सरकारद्वारा एकैपटकमा कुनै मुलुकलाई प्रदान गरिएको हालसम्मकै ठूलो परिमाणको सामग्री हो ।’ नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वयमा परराष्ट्रमन्त्री डा नारायण खड्काको निरन्तर पहलबाट भएको मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा परराष्ट्रमन्त्री डा।नारायण खड्काले कराँची जाने टोलीलाई बिदाइ गरेका थियो । राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको हो ।

सम्बन्धित् समाचार